ट्रेण्डिङ

नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् ।

आज बिहान १०ः१२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो उपलब्धिसँगै उनले आफैंले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् । सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामी रीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ ।

उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन् । यस वर्षको सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ फर्किँदै गरेको जनाइएको छ । आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट टकनले उनको सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ ।

कामी रीता शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ । सगरमाथा आरोहणलाई जीवनको निरन्तर अभियान बनाएका उनले फेरि एक पटक विश्वलाई देखाएका छन् । साहस, अनुशासन र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ । उनको यो कीर्तिमानी आरोहणले नेपाली हिमाल पर्यटन र पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा थपेको छ र विश्वभर नेपाललाई अझ उज्यालो रूपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय