झापाको गौरादह र दमक नगरपालिकाको सिमानामा रहेको रतुवा पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त शव दमक नगरपालिका–८ बसन्त टोल निवासी २१ वर्षीया रमा तिवारीको रहेको पुष्टि भएको हो।
प्रहरीका अनुसार रमा तिवारीका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शवको सनाखत गरेका छन्। परिवारका अनुसार रमा जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी थिइन् र त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।
केही दिनपछि रतुवा पुलमुनि बोराभित्र शव फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा तरंग सिर्जना गरेको छ। शव फेला परेको अवस्था र घटनाको प्रकृतिलाई मध्यनजर गर्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाको वास्तविक कारण, मृत्युको परिस्थिति तथा यसमा संलग्न हुन सक्ने व्यक्तिहरूबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।






