३० असोज, काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विप-द् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा बसेको बैठकले बूढीगण्डकी बाढीबाट प्रभावित गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बाढीबाट प्रभावित बागलुङका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकासहितलाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
सरकारका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूलाई लक्षित गरी उक्त निर्णय गरिएको हो ।
यस्तै थानीय तहका क्षतिग्रष्त निजी आवासका प्रभावित परिवारहरूले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि तत्काल राहत स्वरूप बसोबास र जिविकोपार्जनका लागि ४ जनासम्मको सदस्य संख्या भएका परिवारलाई प्रति परिवार प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रति सदस्य थप २ हजार प्रति महिना प्रदान गर्ने निर्णय गरेको छ ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी काम अघि बढाउन प्रक्रियागत जटिलता हट्ने र काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहज हुने सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।






