नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र पार्टी प्रवेश गर्नेहरूका लागि उत्पन्न समस्या समाधान गर्न सम्पर्क व्यक्तिहरू तोकेको छ ।
समितिले शुक्रबार सूचना जारी गर्दै विभिन्न प्रकृतिका समस्या सम्बोधनका लागि केन्द्रीय कार्यालयका सचिव तथा कर्मचारीहरूलाई सम्पर्क व्यक्ति तोकेको हो।समितिले सदस्यता नवीकरण र अद्यावधिकका लागि केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यलाई सम्पर्क व्यक्ति तोकेको छ।
१४औँ महाधिवेशन पछि लागू हुने गरी स्वीकृत भएका क्रियाशील सदस्यहरूको अद्यावधिक र नवीकरणमा देखिएका समस्या वा गुनासो सङ्कलनका लागि आचार्यलाई सम्पर्क व्यक्ति तोकिएको हो।
समितिले छुटेका सदस्य र प्राविधिक समस्या समाधानका लागि केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सम्पर्क व्यक्ति तोकेको छ।
पुस मसान्तसम्म प्रणालीमा प्रविष्ट गर्दागर्दै सिस्टम बन्द भएका वा विभिन्न तहगत सिफारिसमा छुट हुन गई नवीकरण र नयाँ सदस्यता पाउनबाट वञ्चित भएकाहरूका लागि केसीलाई सम्पर्क व्यक्ति तोकिएको हो।
अनलाइनमार्फत वितरण गरिने नयाँ क्रियाशील सदस्यताको समन्वय गर्ने जिम्मेवारी पनि केसीलाई नै दिइएको छ । लिखित गुनासो र जानकारीका लागि हरिचन्द्र खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ।
क्रियाशील सदस्यता सम्बन्धी कुनै पनि समस्या वा गुनासोहरू लिखित रूपमा केन्द्रीय कार्यालयमा दर्ता गराउनका लागि खनाललाई सम्पर्क व्यक्ति तोकिएको समितिले जनाएको छ।
विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रिया र आवश्यक समन्वयका लागि विष्णुदेव ठाकुरलाई सम्पर्क गर्न समितिले आग्रह गरेको छ।






