राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनमा चार जनाले नेतृत्व दाबी गरेका छन् । हेटौंडामा मंगलबारबाट सुरू अधिवेशनमा चार जनाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
सभापतिका लागि डा. अच्युतम लामिछाने (काठमाडौं), हरिबहादुर खत्री (रामेछाप), कृष्णमान श्रेष्ठ (काठमाडौं) र उत्सव अर्याल (मकवानपुर)ले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।
लामिछाने प्रतिनिधिसभा सदस्यसमेत हुन् । लामिछाने यसअघि पनि प्रदेश समितिको सभापति थिए । मकवानपुरका अर्याल प्रदेश समितिको प्रवक्ताको जिम्मेवारी थिए । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान प्रक्रियाबाट समिति चयन हुने कार्यतालिका थियो ।
मंगलबार राति ढिलासम्म उम्मेदवारको अन्तिम नामावली टुंगिएकाले निर्वाचन प्रक्रिया लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिइन् । उनका अनुसार समिति चयनका सम्बन्धमा अहिले अधिवेशन स्थलमा छलफल भइरहेको छ ।






