पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध अभियोग हटाउन अनुमति दिएको छ ।
अब उनीमाथि वीरगन्जस्थित सानो पाइला सहकारीको रकम हिनामिनासम्बन्धी सहकारी ठगीको अभियोग मात्र कायम रहनेछ ।
न्यायाधीश मोहन सुवेदीको इजलासले अभियोगपत्र संशोधन गर्न अनुमति दिँदै पीडित बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई सहज बनाउने आधार प्रस्तुत गरेको छ ।
अदालतले संगठित अपराधको अभियोग हटेपछि पीडित र प्रतिवादीबीच मिलापत्र तथा बचत फिर्ता प्रक्रिया सहज हुने जनाएको छ ।
यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो ।
सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
यस मुद्दामा लामिछानेले यसअघि एक करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी धरौटीस्वरूप बुझाएका थिए ।






