सिटिजन लाइफ इन्स्योरेन्सले चालु आवको चैत मसान्तसम्म जीवन बीमा कोषको आकार बढाएर २४ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको जनाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि भएको जनाएको हो। कम्पनीका अनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको जीवन बीमा कोष १८ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो । एक वर्षको अवधिमा कम्पनीले छ अर्बभन्दा बढीले कोष विस्तार गर्न सफल भएको देखिन्छ। यद्यपि, जीवन बीमा कोषलाई जोखिम व्यवस्थापनसँग जोडिएको कोषका रूपमा हेरिन्छ ।
कम्पनीको खुद नाफामा भने सामान्य सुधार देखिएको छ। समीक्षा अवधिमा नाफा बढेर ३६ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। बीमा कम्पनीहरूको नाफा बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तन हुन सक्ने भएकाले अन्तिम नतिजामा केही हेरफेर सम्भव रहने उल्लेख गरिएको छ।
सिटिजन लाइफको समग्र आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। कम्पनीको कुल आय झन्डै २० प्रतिशतले बढ्दै सात अर्ब ५६ करोड रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । लगानीबाट प्राप्त प्रतिफल र बीमा पोलिसी धितोमा प्रवाह गरिएको कर्जाबाट हुने आम्दानी बढेकाले कम्पनीको आम्दानीमा सुधार आएको वित्तीय विवरणमा उल्लेख छ।
यता कम्पनीको खर्च पनि बढेको देखिएको छ। नौ महिनाको अवधिमा खर्च करिब २१ प्रतिशतले बढेर सात अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको कुल खर्च पाँच अर्ब ९६ करोड रुपैयाँ थियो। व्यवसाय विस्तार, कर्मचारी सुविधा तथा अन्य प्रशासनिक शीर्षकमा खर्च बढेका कारण कुल खर्चमा वृद्धि भएको देखिन्छ।
बीमा पोलिसीको संख्यामा भने गिरावट आएको छ। गत वर्ष १० लाख १५ हजार सक्रिय पोलिसी रहेको कम्पनीमा चालु आवको नौ महिनासम्म आइपुग्दा यस्तो संख्या घटेर सात लाख ८८ हजारमा सीमित भएको छ।






