FLASH NEWS
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने ।

१६ भदौ, काठमाडौं । नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् ।

लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् ।

काठमाडौं पुगेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सूदले विपत्तिको यस कठिन घडीमा नेपाललाई सहयोग गर्न विश्वभर छरिएर रहेका समुदायलाई अपिल गरे । बाढीका कारण घरबारविहीन बनेका नागरिकहरूको आवास निर्माणका लागि उनले ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव समेत गरे ।

यसअघि भारतको पञ्जाबमा आएको बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको स्मरण गर्दै उनले नेपालमा पनि पहिचान गरिएका स्थानहरूमा आवास निर्माण थालिने जानकारी दिए ।

‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो,’ सूदले भने, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितहरूको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’

सूदका अनुसार उनको संस्था ‘सूद च्यारिटी फाउन्डेसन’, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले स्थलगत रूपमै पुगेर वास्तविक आवश्यकता पहिचान गरिरहेको छ ।

हाल भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्रीहरू नेपालतर्फ पठाइसकिएको उनले बताए ।

सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन सहयोग योजना बनाउने जानकारी दिए ।

नेपाली नागरिकहरूको आत्मबल र मिहिनेती स्वभावको प्रशंसा गर्दै उनले मुम्बईमा विगत २५–३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्तिहरू नेपाली नै रहेको उल्लेख गरे । ठूलो विपद्का बीच पनि नेपालीहरूले देखाएको धैर्यता र मुस्कानले आफूलाई थप प्रेरित गरेको उनको भनाइ थियो ।

यसै क्रममा अभिनेता सूदले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनप्रति चिन्ता व्यक्त गरे । प्रकृतिको दोहन र वनजङ्गल फडानीका कारण विश्वभर यस्ता विपत्तिहरू बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षाका लागि अहिले नै प्रकृतिको संरक्षणमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय