९ कात्तिक, काठमाडौं । दशैंंअघि बढेर बन्द भएको शेयरबजार दशैंंपछिको पहिलो कारोबार दिन घटेको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.३४ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतको गिरावाटपछि समग्र नेप्से परिसूचक २ हजार ६ सय २९ दशमलव ८२ मा ओर्लिएको छ ।
उत्पादन तथा प्रशोधन, व्यापार र जलविद्युत्को शेयर मूल्य बढ्यो भने सामूहिक लगानी कोषको शेयर मूल्य स्थिर रह्यो । उत्पादन तथा प्रशोधनको १०९.७४, व्यापारको ३५.५६ र जलविद्युत्को ८.७५ अंकले बढ्यो । विकास बैंक ६६.९१, निर्जीवन बिमा ६१.८६, जीवन बीमा ५३.२३ अंकले घट्यो ।
कारोबारमा आएका मध्ये ९९ कम्पनीको यर मूल्य बढ्यो । १७१ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । आज बेनी हाइड्रोपावरको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्यो । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको ५.८१, सोनापुर मिनरल्स एन्ड आयलको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२, घोराही सिमेन्ट इन्डस्ट्रिजको ४.४७ प्रतिशतले मूल्य बढ्यो ।
चिख्र्वा हाइड्रोपावरको ७.९२, महिला लघुवित्त वित्तीय संस्थाको ७.५७, एसबीएल डिबेञ्चरको ५.९१, गुराँस लघुवित्त वित्तीय संस्थाको ५.८१, ग्लोबल आईएमई बैंक डिबेञ्चरको ५.४७ प्रतिशतले घट्यो । कुल ३८ हजार ७८८ पटकको शेयर कारोबारमा ४ अर्ब रूपैयाँको किनबेच भएको छ । ती किनबेचमा १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच भए ।
आज उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने आकर्षण देखिएको छ । उत्पादन तथा प्रशोधन समूह १.०३ तथा व्यापार १.११ प्रतिशत बढे । व्यापार समूहको विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढ्दा यो समूह बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा २ कम्पनी यो समूहमा पर्दछन् ।
त्यस्तै सिमेन्ट कम्पनीहरूको मूल्यवृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई उचाल्यो । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक, सानिमा मिडिल तमोर क्रमशः अगाडि रहे ।
सोमबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २१५ रूपैयाँ ९० पैसामा २३ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशत बढेको हो ।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको ६९६ रूपैयाँ ४० पैसामा २० करोड ५८ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ ।








