‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राजधानीमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ।
घोंघी स्टेशन प्रा. लि. को आयोजनामा हुन लागेको यो कार्यक्रम आगामी जेठ १५ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। आयोजक घोंघी स्टेशन प्रा. लि. ले एक विज्ञप्ति जारी गर्दै कार्यक्रमका विभिन्न पक्षबारे जानकारी दिएको हो।
आयोजकका अनुसार थारु कला, संस्कृति र सङ्गीतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा थारु साङ्गीतिक क्षेत्रका स्थापित तथा उदीयमान कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
कार्यक्रममा गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक एवं सङ्गीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चौधरीले आफ्ना चर्चित साङ्गीतिक प्रस्तुतिहरू दिनेछन्। त्यसैगरी, कार्यक्रमको आकर्षणको रूपमा मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई र डान्सर सुमिना चौधरीको नृत्य रहनेछ।
जेठ १५ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस कार्यक्रम काठमाडौँमा रहेका थारु समुदाय र नेपाली कला–संस्कृति प्रेमीहरूका लागि एक महत्त्वपूर्ण उत्सव हुने विश्वास आयोजक घोंघी स्टेशन प्रा. लि. ले लिएको छ।






