काठमाडौं । नेपाली मौलिक संस्कृति र आधुनिक फेसनको उत्कृष्ट प्रस्तुतिका बीच सम्पन्न ‘ब्राइडल कउचर रनवे २०२६- संस्करण ३’ मा पाँच जना सुन्दरीले ‘ब्राइडल क्विन २०२६’ को ताज जितेका छन्।
भक्तपुरको राधेराधेस्थित हेरिटेज प्यालेसमा सम्पन्न समारोहमा रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले संयुक्त रूपमा ‘ब्राइडल क्विन २०२६’को उपाधि हात पारेका हुन्।
धार्मिक तथा सांस्कृतिक वातावरण सिर्जना गर्दै गंगा आरतीसहित सुरु गरिएको उक्त कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउत मुख्य अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विजेताहरूलाई आयोजक तथा अतिथिहरूले सम्मानका साथ उपाधिको ताज पहिराएका थिए।
कार्यक्रमका आयोजक शाह स्टुडियो एन्ड कम्पनीका प्रबन्ध निर्देशक मोनु शाहले नेपाली मौलिक पहिरन, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय फेसन मञ्चमा स्थापित गराउने लक्ष्यका साथ रनवे आयोजना गरिएको बताए । शोमा नेपाली परम्परागत दुलहीका पहिरन, आधुनिक कउचर डिजाइनहरू र सांस्कृतिक रनवे प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेका थिए।






