अमेरिकाको एक अदालतले बालबालिकाको अनलाइन सुरक्षामा पर्याप्त ध्यान नदिएको ठहर गर्दै फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटामाथि ५६ करोड अमेरिकी डलरभन्दा बढी जरिवाना लगाउने आदेश दिएको छ।
न्यू मेक्सिको राज्यका एक न्यायाधीशले सुनाएको फैसलामा मेटाले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्म किशोर–किशोरीका लागि सुरक्षित बनाउने गरी सञ्चालन पद्धतिमा आवश्यक सुधार गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
फैसलामा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट युवामा लत बस्ने र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने अवस्थालाई गम्भीररूपमा लिइएको छ।
न्यायाधीशले मेटाको भूमिकालाई युवामा बढ्दो मानसिक स्वास्थ्य समस्याको एक प्रमुख कारणका रूपमा व्याख्या गर्दै यसलाई ‘सार्वजनिक बाधा’सँग जोडिएको विषयसमेत मानेका छन्। जरिवानाबाट उठ्ने रकम यस्ता समस्या न्यूनीकरणका कार्यक्रममा खर्च गरिने जनाइएको छ।
यसअघि यही मुद्दामा बालबालिकालाई अश्लील सामग्री तथा अनलाइनमार्फत सक्रिय यौन अपराधीको जोखिममा पर्न दिएको निष्कर्षसहित मेटालाई ३७ करोड अमेरिकी डलरभन्दा बढी जरिवाना गरिएको थियो।
फैसलाप्रति प्रतिक्रिया दिँदै मेटाले किशोर–किशोरीलाई अनलाइनमा सुरक्षित राख्न विभिन्न सुरक्षा उपाय लागू गर्दै आएको दाबी गरेको छ।






