एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस६’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै आधुनिक प्रविधि समावेश सहितको उक्त गाडी सार्वजनिक गरेको हो ।
७७ किलोवाट क्षमताको ब्याट्री भएको एमजी एस६ एकपटक फुल चार्ज गर्दा ५२९ किलोमिटरसम्म यात्रा गर्नसक्ने कम्पनीले जनाएको छ । गाडीले १४४ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३८ मिनेट लाग्ने बताइएको छ ।
यो एसयूभीमा १८० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २४५ पीएस पावर र ३५० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार गाडी शहर तथा लामो दूरी दुवै यात्राका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।
एमजी एस६ मा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, प्यानोरामिक सनरुफ, प्रिमियम अडियो सिस्टम तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता आधुनिक फिचरहरू समावेश छन् । साथै, गाडीमा ठूलो बुट स्पेस र स्मार्ट कनेक्टेड कार टेक्नोलोजी पनि उपलब्ध छ ।
नेपालमा बढ्दो इलेक्ट्रिक गाडीको बजारलाई लक्षित गर्दै एमजीले यो नयाँ मोडल ल्याएको हो । नयाँ मोडल आएसँगै ग्राहकको छनोटमा पर्ने अपेक्षा कम्पनीले राखेको छ । कम्पनीले एमजी एस६ को मूल्य ६९ लाख ९९ हजार रुपियाँ तोकेको छ ।






