३ भदौ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।
बुधबार आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन गरे। यसअघि लाजिम्पाटबाट सञ्चालन हुँदै आएको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारबाट सञ्चालनमा आएको हो।
उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य तथा पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी र ग्राहकहरूको उपस्थिति थियो।
केन्द्रीय कार्यालय उद्घाटनका अवसरमा बैंक परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको थियो।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको थियो। त्यसपछि २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा सरेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको नयाँ अध्याय सुरु भएको बताए।
उनले बैंकको व्यावसायिक यात्रामा लाखौँ ग्राहक, हजारौँ शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार संस्था र कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताउँदै संस्थागत सुशासनलाई बैंकको विकासको आधारका रूपमा प्रस्तुत गरे।
बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त बनाउँदै लैजाने बताए।
गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा र ५१ एटीएम मार्फत करिब १० लाख ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।






