१६ असोज, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालमै पहिलोपटक एप्पल पे (Apple Pay) र गुगल पे (Google Pay) अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।
यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway मा आवद्ध भएका ई-कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई-कमर्स प्लेटफर्म Tokenize गरी सहज र सुरक्षित रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।
डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यले बैंकले यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकको ई-कमर्स पेमेन्ट गेटवेमा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यावसायिक ग्राहकले यो सेवा उपयोग गर्न सक्नेछन्।
एप्पल पे र गुगल पे मोबाइलमा आधारित विश्वव्यापी रूपमा प्रचलित डिजिटल भुक्तानी माध्यम हुन्। यी माध्यमबाट अन्तर्राष्ट्रिय ग्राहकले भौतिक कार्ड प्रयोग नगरी मोबाइलमा कार्ड विवरण सुरक्षित रूपमा राखेर सहजै भुक्तानी गर्न सक्नेछन्।
पर्यटनदेखि आईटी व्यवसायसम्मलाई लाभ
बैंकका अनुसार विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, हस्तकला, एयरलाइन्स, ई-कमर्स तथा आईटी क्षेत्रका व्यवसायले यो सुविधाबाट लाभ लिन सक्नेछन्। यस्ता व्यवसायले बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध भई अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन्।
नयाँ सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि परिचित र सहज भुक्तानी अनुभव उपलब्ध गराउन सहयोग पुग्ने बैंकको विश्वास छ।
विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई-कमर्स, आईटी तथा निर्यातजन्य व्यवसायले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्न सहज हुने भएकाले यसले अन्तरदेशीय कारोबार विस्तार तथा विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।
नेपालमै पहिलोपटक सुरु गरिएको भनिएको यस सेवाले डिजिटल भुक्तानीलाई थप सहज र सुरक्षित बनाउनुका साथै मर्चेन्ट व्यवसाय विस्तारमा सहयोग पुग्ने बैंकको दाबी छ। यसबाट नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तरदेशीय भुक्तानी प्रणालीमा समेत नयाँ आयाम थपिने बैंकले जनाएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलका अनुसार ग्राहकको बदलिँदो डिजिटल भुक्तानी आवश्यकतालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय स्तरका भुक्तानी माध्यमलाई नेपाली व्यवसायसँग जोड्ने प्रयासस्वरूप सेवा सुरु गरिएको हो।






