२० असोज, काठमाडौं । यस वर्षको बडादशैंअन्तर्गत विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ।
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि र कार्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ। कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ।
सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे, स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ। त्यसैगरी कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ।






