काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–८ स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ।
‘मलमास मेला’ का नामले परिचित यस मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौं भक्तजनको भीड लाग्ने गर्दछ। धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ भक्तजन मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजा गर्न पुग्ने गरेका छन्।
मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ। साथै, माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो, चार हातमा शंख, चक्र, गदा र पद्म धारण गरेका भगवान मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ।
पुराणअनुसार भगवान विष्णुले लिएका दश अवतारमध्ये पहिलो अवतार मत्स्य अवतार मानिन्छ। प्रलयकालमा मत्स्यरूपी भगवानले समुद्रमा डुङ्गाको काम गर्दै वेदको रक्षा गरेको धार्मिक विश्वास रहेको छ।






