आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा यो नेपालको दोस्रो जित हो ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको महत्वपूर्ण पारी खेले । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए । इशान पाण्डे ५५ रन बनाएर आउट भए भने उनले ५ चौका र २ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेलले २८ रन र आसिफ शेखले २९ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट र ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ३९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटिएको थियो । स्कटल्याण्डका ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए भने माइकल इंग्लिसले ५१ रनको योगदान दिए । नेपालका लागि ललित राजवंशीले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
यो जितसँगै नेपाल अङ्क तालिकामा पाँचौं स्थानमा उक्लिएको छ र अब अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।






