८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आगामी कात्तिक १२ गते पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ। सोही दिन निर्वाचितहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत तय गर्ने तयारी भइरहेको छ।
कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमको मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन। वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा विदेशमा रहेकाले उनी स्वदेश फर्किएपछि कार्यक्रमको मिति टुंगो लगाइने उनले बताएका छन्।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
थापाबाहेक निर्वाचित अन्य २३० पदाधिकारी तथा केन्द्रीय सदस्यले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्न बाँकी छ।
निर्वाचन समितिले कात्तिक १२ गते शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाएको जनाएको छ। यद्यपि, कार्यक्रमको अन्तिम मिति वरिष्ठ उपसभापति शर्माको स्वदेश फिर्तीपछि तय गरिनेछ।








