राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनलाई केन्द्रित गर्दै देशभरका नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने निर्णय गरेको छ ।
वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन तथा भेला सम्पन्न गराउने उद्देश्यसहित केन्द्रीय पदाधिकारी, सांसद तथा विभागीय नेताहरूलाई जिम्मेवारी तोकिएको हो ।
चितवनमा असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन गर्ने तयारीअनुसार पार्टीले सबै तहका संरचना निर्माण र अधिवेशनको कार्यतालिका अघि बढाएको छ ।
वडा अधिवेशन जेठ ३ र १६ गते, पालिका अधिवेशन जेठ १० र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म हुने तय भएको छ ।
पार्टीले खटाएका नेतामध्ये महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा, सहमहामन्त्री विपिन आचार्य दाङ, प्रवक्ता मनिष झा धनुषा, सहप्रवक्ता रमेश प्रसाई ताप्लेजुङ, सांसद रञ्जु दर्शन काठमाडौं लगायतलाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय प्रतिनिधिहरूले वडा र पालिका तहमा अधिवेशन नभएका स्थानमा समन्वय गर्ने, तदर्थ समिति गठन गर्ने र संगठन विस्तारलाई तीव्रता दिने कार्य गर्नेछन् ।






