सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने विषय भने टीओआरमा स्पष्ट गरिएको छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४५ तथा राजदूत नियुक्ति निर्देशिका–२०७५ (२०७९ मा संशोधित) अनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
कार्यविधि अनुसार राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरह मानिनेछ र कार्यकाल चार वर्षको हुनेछ । हाल नेपालका १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन्।
राजदूत र परराष्ट्र सेवाका कूटनीतिक नियोगमा खुला प्रतिस्पर्धाबाट भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अष्ट्रिया, बहराइन, बङ्गलादेश, मलेसिया, ओमान, साउदी अरेबियालगायतमा नियुक्त गरिनेछ ।






