नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
खेलाडीहरूको पछिल्लो प्रदर्शन र योगदानलाई ध्यानमा राख्दै क्यानले यसपटक टोलीलाई ‘ए प्लस’ देखि ‘डेभलपमेन्ट’ (विकास) श्रेणीसम्म गरी विभिन्न ५ वटा समूहमा विभाजन गरेको हो। नयाँ वर्गीकरण अनुसार सबैभन्दा माथिल्लो र आकर्षक मानिएको क्याटगोरी ‘ए प्लस’मा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र स्टार स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका हुन्।
त्यसैगरी, क्याटगोरी ‘ए’मा प्रारम्भिक ब्याटर आसिफ शेख, तीव्र गतिका बलर करण केसी, कुशल भुर्तेल र अनुभवी सोमपाल कामी रहेका छन्। पछिल्लो समय उत्कृष्ट लयमा देखिएका आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजबंशी र नन्दन यादवलाई भने ‘क्याटाेगाेरी बी’ मा राखिएको छ।
क्यानले ‘क्याटगोरी सी’मा विकेटकिपर ब्याटर विनोद भण्डारी, युवा ब्याटर अनिल शाह, कुशल मल्ल, सुन्दिप जोरा, अर्जुन कुमाल, बासिर अहमद, हेमन्त धामी, इशान पाण्डे, लोकेश बम, शाहब आलम र शेर मल्लसहित ११ जना खेलाडीहरूलाई समेटेको छ।
यसका साथै, भविष्यका सम्भावित र युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘डेभलपमेन्ट’ श्रेणी पनि तयार पारिएको छ। यस समूहमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सराफ, राशिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रित राज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी गरी कुल १५ जना खेलाडीहरू समावेश छन्।
ए प्लस क्याटगोरीमा परेका खेलाडीहरुले प्रति महिना एक लाख २० हजार पाउनेछन् । यस्तै ए क्याटगोरीमा परेका खेलाडीले एक लाख, क्याटगोरी बी मा रहेका खेलाडीले ७५ हजार र डेभलप्मेन्ट क्याटगोरीमा पर्ने खेलाडीहरुले ३५ हजार पारिश्रमिक पाउनेछन् ।






