फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियामाथि २–० को जित हासिल गरेको छ।
अमेरिकाको डलासस्थित स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाको जितका लागि कप्तान लियोनेल मेस्सीले दुवै गोल गरे। यस जितसँगै अर्जेन्टिना विश्वकपको अर्को चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।
खेलको नवौँ मिनेटमा मेस्सीले प्रहार गरेको पेनाल्टी अस्ट्रियाका गोलरक्षक अलेक्जेन्डर स्लागरले उत्कृष्ट बचाउ गरेका थिए। सुरुआती अवसर गुमाए पनि अर्जेन्टिनाले खेलमा निरन्तर दबाब कायम राख्यो। खेलको ३८औँ मिनेटमा फाकुन्डो मेडिनाको पासमा मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए।
अस्ट्रियाले बराबरीका लागि केही राम्रो अवसर सिर्जना गरे पनि अर्जेन्टिनी रक्षापंक्ति र गोलरक्षकले ती प्रयास विफल पारिदिए। त्यसपछि खेलको अतिरिक्त समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको २–० को जित सुनिश्चित गरे। यस जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ भने मेस्सीले टोलीको सफलतामा निर्णायक भूमिका निर्वाह गरे।








