५ साउन, काठमाडौं। नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वार्षिकोत्सवको अवसरमा चीनको हुनान प्रान्तमा आयोजित ‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल–२०२६’ मा प्रदर्शन गरिएका ६ नेपाली चलचित्रलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा ‘उज्यालो र छायाँ मिल्छन्, पहाडहरू एकसाथ चम्कन्छन्’ भन्ने मूल नारासहित सम्पन्न भएको महोत्सवमा प्रदर्शन गरिएका ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेल भिसा’ र ‘होस्टेल ३’ चलचित्रलाई अवार्ड प्रदान गरिएको हो।
आयोजकका अनुसार यो महोत्सव चीनमा नेपाली चलचित्रहरूको पहिलो ठूलो स्तरको आधिकारिक प्रदर्शनका रूपमा आयोजना गरिएको थियो। महोत्सवले नेपाली चलचित्र उद्योगलाई चिनियाँ दर्शकमाझ परिचित गराउनुका साथै नेपालको हिमाली सौन्दर्य, संस्कृति र मानवीय कथालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
‘नेपाल एभरेष्ट फिल्म फेस्टिभल–२०२६’ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तमा सञ्चालन भएको थियो।






