गोरखाको सिरानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको सांदी खोलामा बुधबार साँझ आएको आकस्मिक बाढीले एउटा बोलेरो जिप बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार थालाजुङबाट केराबारीतर्फ सामान बिक्री गरी फर्किरहेको ग ३ च ८०२७ नम्बरको बोलेरो जिप खोला तर्ने क्रममा एक्कासि आएको बाढीले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार साँझ परिसकेकाले बाढीले जीप कहाँसम्म बगायो भन्ने यकिन हुन सकेको छैन। तर चालक सिरानचोक गाउँपालिका–२, चित्रे भालुमारे निवासी बुद्ध गुरुङले जिपबाट हाम फालेर पौडी खेल्दै किनारमा निस्किएकाले उहाँ सकुशल रहेका छन्। बोलेरो जिप बाढीले बगाए पनि चालकको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ।
घटनापछि बिहीबार बिहानदेखि स्थानीयवासी, नेपाल प्रहरी र सिरानचोक गाउँपालिकाको समन्वयमा जेसीबी प्रयोग गरी जिपको खोजी तथा सुरक्षित स्थानमा निकाल्ने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढिरहेकाले उद्धार तथा खोजी कार्यमा चुनौती थपिएको प्रहरीले जनाएको छ।
सिरानचोक गाउँपालिकाका अनुसार थप बाढी आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै जीपलाई सकेसम्म छिटो खोलाबाट बाहिर निकाल्ने प्रयास जारी छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले वर्षायाममा खोला तथा नदी तर्दा विशेष सावधानी अपनाउन, पानीको बहाव बढेको अवस्थामा जोखिमपूर्ण यात्रा नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आकस्मिक बाढी र भेलले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने भएकाले सतर्क रहन पनि प्रहरीले अनुरोध गरेको छ।






