नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि अहिले दुवैतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।
आज बिहान सो सडकखण्डका विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा यातायात सेवा प्रभावित भएको थियो। डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खसेको थियो।
तीमध्ये तुइन, नाम्सी र सिमलताल क्षेत्रमा एकतर्फी रूपमा सडक अवरुद्ध बनेको थियो भने अन्य स्थानमा लेदो सडकको छेउमा थुप्रिएको थियो।
सम्बन्धित निकायले ती सबै स्थानको पहिरो समयमै पन्छाएसँगै बिहान १०:०० बजेपछि सडक पूर्ण रूपमा सुचारु भएको छ। तुइनखोलाको पहिरो सो क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनी आफैँले पञ्चाइएको थियो भने अन्य स्थानको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरणहरूको सहायताले हटाइएको हो।
हाल सो सडक खण्डमा सिमसिम पानी परिरहेकाले जुनसुकै बेला फेरि पहिरो खस्न सक्ने जोखिम रहेका कारण यात्रा गर्दा विशेष सावधानी अपनाउन चालक तथा यात्रुहरूलाई आग्रह गरिएको छ।






