सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल-युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार-विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए। यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा रहेको उनले उल्लेख गरे।
सभामुख अर्यालले नेपाल सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखी अघि बढिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना, पूर्वाधार विकास, द्रुत आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धिलाई सरकारका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताए।
उनले हालै युरोपेली संघका विभिन्न सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको उल्लेख गर्दै निकट भविष्यमा युरोपेली संघसँग पनि संसदीय मैत्री समूह गठन गरिने जानकारी दिए।
यस्ता मैत्री समूहहरूले संसदीय कूटनीति सुदृढ गर्न तथा नेपाल-युरोपेली संघबीचको संसदीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरेको सचिवालयले जनाएको छ।
भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरिन्। साथै नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिन्।






