पाकिस्तानस्थित ब्रडपिक हिमालमा हिमपहिरोमा परि ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको छ।
निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले शव बेस क्याम्पमा ल्याइएको पुष्टि गरेका हुन्। उनका अनुसार निर्मल पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै जोखिमपूर्ण उद्धार अभियान सञ्चालन गरेर सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको हो।
कठिन हिमाली भूगोल र प्रतिकूल मौसमका बिच सम्पन्न उक्त उद्धार अभियानको नेतृत्व वरिष्ठ आरोही मिङ्माले गरेका थिए। अभियानमा पाकिस्तानी पर्वतारोही सिरबाज खानसहित फिल्डमा खटिएको उद्धार टोलीले सक्रिय भूमिका निभाएको जनाइएको छ।






