FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यस लगतै मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका छन् ।

आयोगकी नवनियुक्त सचिव प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन् । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी हुन् । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु-याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय