पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव काठमाडौं ल्याइएको छ।
कतार एयरवेजको विमानमार्फत गुरुङको शव बिहीबार काठमाडौँ ल्याइएको हो। गुरुङको शव काठमाडौँमा ल्याएसँगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुकलगायत त्रिभुवन विमानस्थल पुगेका थिए। शव यात्रासहित गुरुङको पार्थिव शरीरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुर्याइएको छ। उनको शुक्रबार अन्तिम संस्कार गरिने संघले जनाएको छ।
ब्रोड पिकमा गएको हिमपहिरोमा परी युक्तसहित कीर्तिमानी आरोही निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो।
पुर्जाको परिवार बेलायत भएकाले उतै अन्त्येष्टि गर्ने तयारी गरिएको छ। अन्य नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्याएपछि ल्याइने संघले जानकारी दिएको छ।






