२ भदौ, काठमाडौं । युट्युबले भिडियोको भ्युज गणना गर्ने प्रणाली परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब भिडियो प्ले हुनेबित्तिकै एक भ्यू गणना हुनेछ।
यसअघि भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यूका रूपमा गणना हुने व्यवस्था थियो। अब भने भिडियो सुरु हुनेबित्तिकै तथा लाइभ स्ट्रिममा दर्शक जोडिनेबित्तिकै भ्यू गणना हुने युट्युबले जनाएको छ।
लामो भिडियो, सर्ट्स र लाइभ स्ट्रिममा फरक–फरक तरिकाले भ्यू गणना हुँदा अन्योल भएको भन्दै क्रिएटरहरूले गुनासो गर्दै आएका थिए। त्यसलाई सम्बोधन गर्दै सबै प्रकारका सामग्रीमा सहज र बुझ्न मिल्ने प्रणाली लागू गर्न युट्युबले नयाँ व्यवस्था ल्याएको हो।
यसअघि नै सर्ट्समा भिडियो सुरु हुनासाथ भ्यू गणना हुने प्रणाली लागू गरिएको थियो। नयाँ व्यवस्थापछि छोटो समय मात्र हेरिएका भिडियोको सार्वजनिक भ्यू संख्या उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ।
यद्यपि युट्युबले पुरानो मापन प्रणाली पूर्ण रूपमा हटाएको छैन। क्रिएटरका लागि ‘इन्गेज्ड भ्यु’ नामक मेट्रिकमार्फत दर्शकले भिडियोमा कति समय बिताए र कस्तो रुचि देखाए भन्ने जानकारी उपलब्ध हुनेछ।
युट्युबका अनुसार नयाँ भ्यु गणना प्रणालीले क्रिएटरको आम्दानी वा मोनिटाइजेसन योग्यतामा भने असर पार्ने छैन। नयाँ व्यवस्था अगस्ट २४ देखि लागू हुनेछ।
टिकटक र इन्स्टाग्राममा भिडियो प्ले हुनेबित्तिकै भ्यू गणना हुने व्यवस्था यसअघि नै रहेको छ। युट्युबले पनि त्यही शैलीको भ्यु गणना प्रणाली अपनाउन लागेको हो।






