११ मङ्सिर, रूपन्देही। मौलिक खानाका परिकार, कला तथा संस्कृतिको प्रबर्द्धन गर्दै पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले बुटवलमा आजदेखि खाना महोत्सव हुने भएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रङ्गशालामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक खानाका ६० वटा स्टल रहने महोत्सव संयोजक एवं सङ्घका अध्यक्ष माधवकुमार खनालले जानकारी दिएका छन् ।
नेपाली मौलिक खानाको स्वादसँगै विभिन्न समुदायको कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको र खाद्य स्वच्छता तथा सरसफाइमा विशेष ध्यान दिइने उनले जानकारी दिए ।
महोत्सवमा करिब दुई लाख दर्शक सहभागी हुने तथा रु एक करोड ५० लाखबराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा स्थापित हुँदै गएको बताएका छन् । उननुसार महोत्सव हरेक दिन अपराह्न ४ः०० देखि राति १०ः०० बजेसम्म सञ्चालन हुनेछ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ । उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहितको -याली महोत्सवस्थल पुग्नेछ । बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।








