काठमाडौं । आधुनिक जीवनशैलीसँगै बढ्दो मानसिक तनाव, व्यस्तता र असन्तुलित जीवनशैलीका बीच आत्मिक शान्ति, सकारात्मक सोच र व्यवहारिक जीवन–कौशलको सन्देश बोकेको युवा मोटिभेटर, बिजनेस ट्रेनर तथा समाजसेवी प्रकाशमान ठकुल्लाद्वारा प्रकाशित ‘तनाव व्यवस्थापन’ पुस्तक शनिबार काठमाडौं र टीकापुरबाट एकैसाथ लोकार्पण गरिएको छ ।
एकै दिन, एकै समयमा आयोजना गरिएका दुई फरक ऐतिहासिक समारोहबीच पुस्तक सार्वजनिक गरिनु आफैंमा विशेष र स्मरणीय क्षण बनेको थियो। काठमाडौंस्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय उपाध्यक्ष श्री कृष्णबहादुर पन्त जीले पुस्तकको लोकार्पण गर्नुभयो भने टीकापुरस्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित सत्संग कार्यक्रमपछि सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष श्री नरबहादुर रावलजी ले पुस्तक विमोचन गर्नुभयो ।
सन्त निरंकारी मासिक पत्रिका तथा मालिका समाचार अनलाइनका सम्पादक पूर्ण कुमालद्वारा सम्पादित यस पुस्तकले वर्तमान समयमा मानिसले भोगिरहेका मानसिक तनावका कारण, त्यसका प्रभाव तथा समाधानका व्यवहारिक र आध्यात्मिक उपायहरूलाई सरल, प्रेरणादायी र जीवनोपयोगी शैलीमा प्रस्तुत गरेको छ । पुस्तकले तनावलाई केवल मनोवैज्ञानिक समस्या मात्र नभई जीवन व्यवस्थापनसँग गाँसिएको विषयका रूपमा व्याख्या गर्दै सकारात्मक सोच, आत्मविश्वास, समय व्यवस्थापन, पारिवारिक सम्बन्ध, नैतिक मूल्य, आध्यात्मिक चेतना तथा आत्मअनुशासनमार्फत तनावमुक्त जीवनतर्फ अग्रसर हुन प्रेरित गर्छ ।
काठमाडौंमा सम्पन्न लोकार्पण समारोहमा सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सञ्चालक श्री बाबुराज महर्जन, केन्द्रीय सचिव श्री अनिल महर्जनलगायत सयौँ सन्तभक्त, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । त्यसैगरी, टीकापुरमा आयोजित कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल टीकापुर क्षेत्रका क्षेत्रीय सञ्चालक श्री नरबहादुर बटाला, सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, पूर्व शिक्षक बलबहादुर रावल, नरबहादुर थापा, धनसिंह नेपाली, शिक्षक शालिराम घर्तीलगायत सयौँ सन्तभक्त, बुद्धिजीवी तथा साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो ।
दुवै समारोहमा प्रमुख अतिथिसहित वक्ताहरूले पुस्तकको आवश्यकता, सान्दर्भिकता र सामाजिक प्रभावमाथि प्रकाश पार्दै वर्तमान समयमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनसम्बन्धी चेतनाको खाँचो झन् बढ्दै गएको उल्लेख गरे । उनीहरूले ‘तनाव व्यवस्थापन’ पुस्तकले व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनलाई सकारात्मक दिशा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । वक्ताहरूले पुस्तकले केवल तनावका कारणहरूको चर्चा मात्र नगरी त्यसबाट मुक्त हुने व्यवहारिक उपाय, आत्मबल अभिवृद्धि गर्ने प्रेरणा तथा आध्यात्मिक जीवनशैलीको महत्त्वलाई समेत प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । विशेषगरी युवापुस्ता, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा जिम्मेवारीपूर्ण जीवन बिताइरहेका सबै वर्गका पाठकका लागि यो पुस्तक उपयोगी मार्गदर्शक बन्न सक्ने धारणा व्यक्त गरिएको थियो ।
एकै समयमा दुई फरक स्थानबाट सम्पन्न भएको यस संयुक्त लोकार्पण कार्यक्रमले पुस्तकप्रतिको उत्साह, लेखकप्रतिको विश्वास र समाजमा मानसिक स्वास्थ्य तथा सकारात्मक जीवनशैलीप्रति बढ्दो सचेतनालाई समेत उजागर गरेको सहभागीहरूको भनाइ थियो । जीवनमा तनाव अपरिहार्य भए पनि त्यसलाई सही दृष्टिकोण, सकारात्मक सोच, आत्मिक चेतना र व्यवहारिक सीपमार्फत अवसरमा रूपान्तरण गर्न सकिने सन्देश बोकेको ‘तनाव व्यवस्थापन’ पुस्तकले नेपाली पाठकमाझ प्रेरणा, आत्मविश्वास र जीवन व्यवस्थापनको प्रभावकारी मार्गदर्शकका रूपमा स्थान बनाउने अपेक्षा गरिएको छ । उक्त महत्वपूर्ण कृति रामारोशन प्रेस प्रा.लि.बाट मुद्रण (छपाई) गरिएको प्रकाशक ठकुल्लाले जानकारी गराउनु भएको छ ।






