मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सोमबार दिउँसो करिब २ बजे मोहम्मद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा आगलागी भएको हो। टिनको बेरा र टिनको छानो भएको एकतले टहरामा सञ्चालन भइरहेको उद्योगमा अचानक आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणका लागि बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाका दमकलसमेत परिचालन गरिएको थियो। प्रहरी, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट सिरक–डसना बनाउने मेसिन, एक थान जेनेरेटर, रुवा बनाउने मेसिन, ठूलो परिमाणमा कच्चा तथा प्रशोधित रुवा, कपडा र तयारी सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार घटनाबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगमा रहेका सिरक, डसना तथा अन्य सामग्रीहरू पूर्ण रूपमा नष्ट भए पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।






