६ साउन, झापा । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका अनधिकृत भौतिक संरचना १५ दिनभित्र स्वेच्छाले हटाउन सम्बन्धित घरधनी तथा व्यवसायीलाई अनुरोध गरेको छ।
नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड–अर्जुनधारा नगरपालिकाको सिमानास्थित महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र रहेका संरचना तोकिएको समयभित्र हटाउन आग्रह गरेको हो।
सडक विभागको समन्वयमा उक्त सडकको नापजाँच तथा रेखाङ्कन सम्पन्न भइसकेको छ। सडकको केन्द्रभागबाट दुवैतर्फ १५–१५ मिटर गरी कुल ३० मिटर क्षेत्र सडकको अधिकार क्षेत्रभित्र पर्ने नगरपालिकाले जनाएको छ।
यसअघि गत जेठ २७ गते ३५ दिने सूचना जारी गरिए पनि केही घरधनी तथा व्यवसायीले संरचना नहटाएकाले पुनः १५ दिनको अन्तिम म्यादसहित सूचना जारी गरिएको हो।
नगरपालिकाले तोकिएको अवधिभित्र पनि संरचना नहटाइए प्रचलित कानुनबमोजिम आफैँले हटाउने तथा त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घर वा जग्गाधनीबाट असुलउपर गरिने चेतावनी दिएको छ।






