पर्साको वीरगञ्ज महानगरपालिका–२६ सुगौलीबिर्तामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सुगौलीबिर्ताका प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुचकी ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुरको निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार साँझ करिब ४–५ बजेतिर घरबाहिर खेलिरहेका दुवै बालिका एकाएक हराएपछि परिवारले नजिकका घर तथा टोलमा खोजी गरेका थिए। साँझ नै बालिकाहरू हराएको जानकारी प्रहरीलाई पनि गराइएको थियो।
खोजीका क्रममा मङ्गलबार बिहान सुगौलीबिर्ताबाट खेततर्फ जाने चक्रगह क्षेत्रमा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा दुवै बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी नायब उपरीक्षक मल्लले दुवै बालिकाको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एकै परिवारका दुई बालिकाको निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमग्न बनेको छ। निर्माणाधीन क्षेत्रमा सुरक्षा घेरा (छेकबार) नलगाइएकै कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायप्रति गुनासो गरेका छन्।






