महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार गरिएको छ।
उद्धारपछि उनीहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
२०८३ साउन १७ गते सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। चिकित्सकको सिफारिसका आधारमा उनलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह, थापाथली ल्याइएको छ। हाल त्यहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ।
त्यसैगरी साउन १८ गते जुम्ला जिल्ला चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि स्वास्थ्य अवस्था जोखिमपूर्ण बनेको थियो। चिकित्सकीय सिफारिसअनुसार उनलाई पनि तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याएर विशेषज्ञ उपचार सुरु गरिएको छ।
दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाले आकस्मिक अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्यु न्यूनीकरण, सुरक्षित मातृत्व प्रवर्द्धन तथा दुर्गम क्षेत्रका महिलाको जीवनरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।






