अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोका कारण इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।






