तीनदिनदेखि हराईरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन।
उनी शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराएका थिए। जंगलको बिचमा उनी चढ्ने मोटरसाइकल भेटिए पनि उनी भेटिएका थिएनन।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले हराएका सिंहको शव आइतबार जंगलमा भेटिएको जानकारी दिए।
‘हाम्रो खोजी अभियानमा रहेको टोलीले सिंहको डेथबडी भेटाएको छ भन्ने जानकारी गराएको छ, अन्य विवरण जुटाउँदैछौं’, उनले भने।
६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई ‘जंगलमा बाटो बिर्सिएँ, मलाई बचाउ’ भनेर फोन गरेका थिए।
त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।






