पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक पुरुषलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो।
मङ्गलबार बेलुका ५ बजेतिर उनले पत्नीको शरीरमा पेट्रोल छरी आगो सल्काएका थिए। तत्कालै १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन्।
तत्काल शरीरको आगो निभे पनि महेश्वरी गम्भीर घाइते भएकी छन्। उनलाई छोरी पुष्पाले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएकी छन्।
अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।
महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको छ। त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ।






