२७ साउन, जनकपुरधाम । धनुषामा एक मिटरब्याजपीडित महिलालाई आत्मदाह गर्नबाट जोगाइएको छ । जिल्ला अदालतको मुख्य गेट अगाडि जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरिन् ।
शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी टोलीले तत्काल उद्धार गरेको हो । घटनापछि अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडित आन्दोलन गरिरहेका छन् ।






