२९ साउन, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न किसिमका लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका-२, बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटा चौबिसे गाउँपालिका–८ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका-२५ हेम्जामा बस्दै आएका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो ।
उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६१ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, वडा प्रहरी कार्यालय बैदाम, बगर र राम बजारबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा-९ नागढुंगामा लागू औषध बिक्री-वितरण भइरहेको सूचनाका आधारमा पर्वत मोदी गाउँपालिका–४ स्थायी ठेगाना भई हाल पोखरा–९ नागढुंगामा बस्ने २२ वर्षीय मोहम्मद इशाक सरिफलाई पक्राउ गरेको छ । उनको साथबाट ५ किलो गाँजा, ट्रामाडोल हाइड्रोक्लोराइड ७९० चक्की, टापेन्टाडोल ३६६ चक्की, दुई थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा सरिफले पोखरा-१४ युनिटोलमा बस्ने २६ वर्षीय आविष्कार सारूबाट लागू औषध खरिद गरेको खुलेपछि उनको कोठामा खानतलासी गर्दा थप टापेन्टाडोल ९ हजार चक्की बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई लागू औषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मनोज लिम्बूलाई ७ दिन र मोहम्मद इशाक सरिफ तथा आविष्कार सारूलाई ८ दिनको म्याद थप गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागू औषधको ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ ।






