जीतपुरसिमरा उपमहानगरपालिका-१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन आज पनि जारी रहेको छ ।
बालिकाको हत्याको विरोधमा पीडित परिवार तथा स्थानीयवासीले बुधबार बिहानदेखि पथलैया-वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् । बालिकालाई न्याय दिलाउन माग गर्दै सुरु गरिएको प्रदर्शन बिहीबार पनि जारी रहेको छ ।
सडक अवरुद्ध भएपछि वीरगन्ज-पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । प्रदर्शनकारीले बालिकाको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ । घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जनाइएको छ ।
घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् ।






