काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन् ।
प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका-३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






