६ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
शनिबार काठमाडौंको शान्तिबाटिका तथा आसपासका क्षेत्रमा र्यालीसहित प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई फाँसीको सजाय हुने कानुन बनाउनुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘गरिमालाई न्याय दे’ लगायतका नारा लगाएका थिए। गृहमन्त्रीले नेपालमा फाँसीको सजाय दिन मिल्ने कानुनी व्यवस्था नरहेको बताइरहेका बेला प्रदर्शनकारीहरूले बलात्कार तथा बालबालिकामाथि हुने जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन आवश्यक रहेको बताएका छन्।
गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश उत्पन्न गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।






