FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङ मार्ग सोमबारदेखि निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ ।

९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर काठमाडौं-धादिङ आउजाउ खुला गरिएको हो । उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा यूनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयाे ।

परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ । अब यो हप्ता विश्लेषण गर्छौं । चालकलाई सवारी चलाउँदाको समस्या, अनुभव के-के भयो भन्ने बुझ्छौँ,’ उहाँले भन्नुभयाे ।

तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयाे । उहाँकाअनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिने छ । आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयाे ।

सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ । प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा नचलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ । सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा यूनिट, शुल्क संकलन गर्ने यूनिटसहित सुरुङभित्रका गतिविधि सीसीटीभीमार्फत निगरानी गरेर आन्तरिक तयारी भइरहेको श्रेष्ठले बताउनुभयाे ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गर्नुभएको थियो ।

२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड-१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।

शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गर्नुभएकाे थियो । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।

पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।

सुरुङ प्रयोग निशुल्क भने होइन । नियमित सञ्चालनमा आएपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय