१० भदौ, काठमाडौं । पछिल्लो सूचना अनुसार रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले जानकारी दिए ।
अहिलेसम्म ३२ प्रहरी सम्पर्कविहीन छन् । इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा क्षति भएको छ । बीओपी टिमुरेमा कार्यरत ९ जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् । अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् ।
रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना सम्पर्कमा आएका छन् । बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।






