२३ भदौ, काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९।१ ओभरमा सबै विकेट गुमाएर २४६ रनमा समेटियो। नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाउनुभयो। उहाँले १०६ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ९० रन बनाउनुभएको हो।
त्यस्तै आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाउनुभयो। बलिङतर्फ हङकङका एइजाज खानले चार विकेट लिनुभयो। यासिम मुर्तजाले दुई विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान एक–एक विकेट लिनुभयो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो। हङकङका लागि बाबर हायातले उत्कृष्ट शतकीय पारी खेल्नुभयो। उहाँले १२७ बलमा सात चौका र सात छक्काको मद्दतमा ११७ रन बनाउनुभयो। त्यस्तै शाहिद वासिफले ४५ रन बनाउँदा एहसान ३५ रनमा अविजित रहनुभयो।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट लिनुभयो भने शेर मल्लले तीन विकेट लिनुभयो। नेपाललाई पराजित गर्दै हङकङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।






