२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।
चीन सरकारको निमन्त्रणामा प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म चीनको औपचारिक भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने ‘१८औँ बेइजिङ सियाङसान फोरम’ (18th Beijing Xiangshan Forum) मा समेत सहभागी हुने कार्यक्रम रहेको छ।
बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।
भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
यसअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।






