FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

५ असोज, डोल्पा । चीनसँगको सीमा नजिक डोल्पाको मरिम नाकामा लाग्दै आएको छोङ्ग्रा मेला यस वर्ष सञ्चालन हुन सकेन । गत वर्ष नियमित रूपमा सञ्चालन भएको मेला यस वर्ष नखुलेपछि उपल्लो डोल्पाका स्थानीयवासी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनुका साथै आफ्ना स्थानीय उत्पादन बिक्री गर्न नपाएको भन्दै चिन्तित भएका छन् ।

डोल्पो बुद्ध गाउँपालिका–१ का अध्यक्ष छिरिङ घुटुक्क मगरका अनुसार अघिल्ला दुई वर्ष लगातार मेला सञ्चालन भए पनि यस वर्ष किन नखुलेको भन्ने स्पष्ट जानकारी आएको छैन। मेला सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट चिनियाँ पक्षसँग पटक–पटक पत्राचार गरी पहल गरिए पनि मेला सञ्चालन हुन नसकेको उनले बताए ।

‘गाउँपालिकाले चिनियाँ सीमातर्फ पत्र पठाएर मेला सञ्चालनका लागि पहल ग-यौँ । तर यस वर्ष मेला खुलेन,’ अध्यक्ष मगरले भने ।

उनले सीमावर्ती नेपाली बासिन्दाको दैनिक जीवनसँग जोडिएको मेला सञ्चालनका लागि संघीय सरकारले कूटनीतिक माध्यमबाट थप पहल गर्नुपर्ने बताए ।

मरिमको सीमावर्ती हाट उपल्लो डोल्पाका बासिन्दाका लागि वर्षभरिका आवश्यक सामान जुटाउने महत्त्वपूर्ण माध्यम हो । स्थानीयले त्यहाँ यार्चागुम्बा, च्याङ्ग्रा, चिया, घिउ, छुर्पीलगायत स्थानीय उत्पादन बिक्री गर्ने र त्यसबाट आएको रकमले खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका छन् ।

डोल्पो बुद्ध गाउँपालिकाका स्थानीय छुल्डिम लामाले यस वर्ष मेला नखुलेपछि घरमा खाने दूध र घिउसमेत सकिएको बताए। उनका अनुसार जोमसोम र दुनैबाट सामान खरिद गर्दा ढुवानी खर्चका कारण महँगो पर्ने गरेको छ ।

‘मरिमको मेला खुलेको भए १० दिनमै वर्षभरिका लागि चाहिने धेरै सामान किनेर ल्याउन सकिन्थ्यो। यस वर्ष मेला नखुलेपछि दैनिक आवश्यक सामानका लागि टाढा जानुपर्ने अवस्था आएको छ,’ उनले भने ।

त्यस्तै, काइके गाउँपालिकाका स्थानीय व्यापारीहरूले यार्चागुम्बा तथा च्याङ्ग्रा बिक्री गर्ने महत्त्वपूर्ण अवसरसमेत गुमेको बताएका छन् । उनीहरूका अनुसार मेलामा च्याङ्ग्रा, भेडालगायत पशु तथा स्थानीय उत्पादनको खरिद–बिक्री सहज हुने गरेको थियो ।

मुस्ताङमा पनि च्याङ्ग्राको आपूर्तिमा असर पर्ने चिन्ता

मुस्ताङका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार मरिम नाका सञ्चालन नहुँदा मुस्ताङ हुँदै पोखरा र काठमाडौं पुग्ने च्याङ्ग्राको आपूर्तिमा समेत असर पर्न सक्छ।

“मरिम नाका नखुल्ने हो भने मुस्ताङबाट पोखरा र काठमाडौं जाने च्याङ्ग्राको संख्या घट्न सक्छ,” थकालीले बताए।

उनका अनुसार यस वर्ष चिनियाँ मुद्रा युआनको मूल्य बढेकाले कोरला नाका हुँदै गत वर्षको तुलनामा कम च्याङ्ग्रा नेपाल भित्रिन सक्ने अवस्था छ। यसले दसैँका लागि काठमाडौंलगायतका बजारमा च्याङ्ग्राको आपूर्तिमा असर पार्न सक्ने उनले बताए ।

थकालीका अनुसार पछिल्ला तीन–चार वर्षदेखि काठमाडौंका च्याङ्ग्रा व्यापारीहरूले मुस्ताङबाट च्याङ्ग्रा खरिद गरी भक्तपुरको सल्लाघारीसम्म लैजाने गरेका छन् । त्यहाँबाट काठमाडौं उपत्यकाका विभिन्न बजारमा च्याङ्ग्रा बिक्री हुने गरेको उनले बताए ।

मरिम छोङ्ग्रा मेला सञ्चालन नहुनु र कोरला नाकाबाट हुने च्याङ्ग्राको आयातमा सम्भावित कमीले यस वर्ष दसैँको बजारमा च्याङ्ग्राको आपूर्तिमा असर पार्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

स्थानीयले आगामी वर्षदेखि मेला नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन नेपाल सरकारले चिनियाँ पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय